✍️ श्री केसरबाई महाराज को हुनुहुन्छ ?

गुजरात प्रान्तको जुनागढ गाउँमा एउटा समृद्ध ब्राह्मण परिवारमा केशरबाईको जन्म भएको मानिन्छ । उहाँ सानैदेखि धार्मिक स्वभावको हुनुहुन्थ्यो । त्यसबेला त्यो भूभागमा कबीर पन्थी, राधा बल्लभी र वैष्णव सम्प्रदायको निकै ठूलो प्रभाव थियो भने उहाँले सर्वाङ्ग (बस्त्रहिन) भएर साध्बी ब्रह्मचार्य जीवन बिताउने एक प्रकारको शैव सम्प्रदायको दीक्षा लिनु भएको थियो । एक दिन केसरबाईजी उहाँका सहयोगी तेजस्बी बाबा र अन्य भक्तजनहरूका साथ जामनगर हुँदै द्वारका धाम दर्शन गर्न निक्लनु हुन्छ । जामनगर का अन्य मठ मन्दिरको दर्शन पश्चात खिजडा मन्दिरमा विश्राम गर्न पुग्नु हुन्छ । त्यतिबेला नवतनपुरी धामलाई खीजडा मन्दिर नामले चिनिन्थियो । करिब ४० वर्ष पुग्न लाग्नु भएकी केसरबाईजी त्यति बेला रातको समयमा ध्यानमा बस्दा नवतनपुरी धामको तल बग्ने जमुनाजीको आवाज सुन्नुभएछ । उहाँलाई ध्यानको क्रममा ब्रज र रासको दर्सन समेत भएको कुरा गुरु परम्परामा सुन्न पाइन्छ ।त्यति बेला खीजडा मन्दिरमा धनीदासजी महाराजजी पुजारी हुनुहुन्थियो । देवचन्द्रजी महाराजलाई ध्यानमा श्रीकृष्णजी मन्त्र दिनु भएको, निजानन्द सम्प्रदाय प्रणामी धर्मको प्रादुर्भाव भएको स्थान यहीं हो भन्दै यहाँ अनेकौँ दैविक लिलाहरू भइरहने गर्छन् भनेर पुजारी महाराजले केशरबाईलाई बताउनु भएछ । यति कुरा सुनेपछि श्री केसरबाईजीले तत्कालीन अवस्थामा यो सम्प्रदायको सिरदार को हुनुहुन्छ ? भनेर पुजारी जीलाई सोध्दा अहिले बुन्देल खण्डमा आफ्ना प्रियपात्र महाराजा छत्रसालजीको साथमा हुनुहुन्छ भनेर पुजारीजीले भनेपछि सहयात्रीहरूलाई द्वारकातिर पठाएर आफू भने आफ्ना सहयोगी तेजस्बी बाबालाई लिएर मूलबाटो परिवर्तन गरी श्री केसरबाईजी बुन्देलखण्ड पन्नातिर लाग्नु भएछ । करिब ५० दिनको पैदल यात्रापछि पन्ना पुग्दा वि.स. १७४३ हुँदै थियो । त्यतिबेला महामति चित्रकुटमा हुनु हुन्थियो । यसै स्थानमा कयामतनामा ग्रन्थ अवतरण हुँदै थियो । केशरबाईलाई पन्नामा महाराज छत्रसालजीले स्वागत गर्नु भएको थियो । देख्ने बित्तिकै छत्रसाल महाराजले छक्क पर्दै साङ्केतिक भाषामा बस्त्र खोई भनेर सोध्दा केसरबाईजीले शीरतिर देखाउँदै साङ्केतिक भाषामै राजा भएर श्रीपेच खोई लगाएको भनेर सोध्नु भएछ ।

श्रद्धाभावका कारण महाराज छत्रसालजी बंगलाजी, गुमटजी र महामतिजीको दर्शन गर्न जाँदा आफ्नो राजसी भेष र श्रीपेच कहिल्यै लगाउनु हुँदैन थियो ।
महामति चित्रकुटबाट फर्कनु अगाडि नै श्री केसरबाईजीलाई बस्त्रसहित निजानन्द सम्प्रदायका रेहेनी, आचरण, भक्ति भाव, ज्ञान चर्चा, चितवनी महाराजजीले सिकाइ सक्नु भएको थियो । वि.स. १७४४ मा महामति चित्रकुटबाट पन्ना सवारी हुँदा स्वागतको लागि पहिलो पङ्क्तिमा केसरबाईजी हुनु हुन्थियो । धनीजीको दर्सन पाएपछि भाव विभोर भएर हर्षका नैन निर झार्नुभयो । तत्पश्चात धेरै दिनको चर्चा, चितवनीमा बसेपछि वि.स. १७४५ मा गुरु पूर्णिमाको दिन महामतिजीले बंगलाजीको मन्दिरमा निजानन्द सम्प्रदाय प्रणामी धर्मको तारतम महामन्त्र प्रदान गर्नु भएको थियो । यिनै केशरबाईजीलाई प्राणनाथजीको अन्तर्ध्यानपछि महाराज छत्रसालजीले पन्नाधामबाट नवतनपुरीधामको लागि जिम्मेवारी तोकेर श्री तारतम सागरसहित पठाउनु भएको कुरा इतिहासमा पढ्न पाइन्छ ।  श्री केसरबाईजी महाराज श्री ५ नवतनपुरी धामको दोस्रो गादीपति हुनुहुन्छ ।

श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायको मुख्य उद्गमस्थल श्री ५ नवतनपुरीधाम हो यसमा कसैको कुनै दुईमत हुन सक्दैन । निजानन्दाचार्य सतगुरू श्री देवचन्द्रजी महाराजले निजानन्द सम्प्रदायको स्थापना गर्नुभएको थियो त्यसको इतिहास साक्षी छ, पछि महामति प्राणनाथजी र छत्रशालजी महाराजको समयमा श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको प्रचार-प्रसार गर्ने मुख्य केन्द्र श्री ५ पद्मावतीपुरी धाम पन्ना हुन पुगेको देखिन्छ । 

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍