✍ अहिंसा सन्देश

संकलक तथा लेखन : राजुप्रसाद भट्टराई, विराटनगर ।

मार्नु धर्म हो भने पाप के हो त ?
विशेष गरी चाडवाडका समयमा हाम्रा धेरै जसो मठ मन्दिरहरूमा धर्मको नाममा अबोध पशुपन्छीहरूको बली दिने परम्परा चलिआएको छ । के यो ठीक हो त ? अबोध पशुपन्छीहरूको बली दिएर होइन हाम्रा मनमा रहेका दुर्गुणहरू जस्तै काम, क्रोध, लोभ, मोह, माया, अहंकार आदिको बली दिएमा अर्थात् त्याग गर्न सकेमा मात्र धर्म कमाउन र धर्मको बाटोमा अगाडि बढ्न सकिन्छ भनेर विभिन्न धर्मशास्त्र एवम् ग्रन्थहरूले हामीलाई सम्झाएको छ । सत्य कुरा एकातिर हुँदाहुँदै मानिसहरू आफ्नो स्वार्थमा परेर भनौँ या जिब्रोको स्वादमा परेर धर्मको नाममा अबोध पशुपन्छीहरूलाई मठ मन्दिरमा लगेर निर्मम हत्या र हिंसा गरेको देखिन्छ । मठ मन्दिर भनेको पवित्र स्थान हो । यसलाई रगतले पोत्नु कतिसम्म जायज छ त ? तपाई नै भन्नुहोस् त, “मार्नु धर्म हो भने पाप के हो त ?”

विश्वका सबै धर्म एवम् महापुरुषहरूले हरेक प्राणीहरूमा चाहे ती मानव हुन् वा पशुपंक्षी, सबैलाई परम पिता परमात्माका सन्तान भनेका छन् । हरेक धर्मशास्त्रले मांसाहारलाई वर्जित गर्दै दीर्घ जीवनका लागि मांसाहार हानिकारक भएको र मन, वचन र कर्मले पनि कसैको हिंसा नगरौँ भनी अहिंंसालाई जोड दिएको देखिन्छ ।

पीवना तमाखूं छोड दो, और मांस मछली सब ।
शराब और सब कैफ, परदारा चोरी न कब ।। – महामति प्राणनाथजी
श्रीकृष्ण प्रणामी धर्मालम्विहरूको पुजनीय ग्रन्थ वीतकमा कुनै पनि मानिसले धुम्रपान, मद्यपान, मांसहार, चोरी र परस्त्रीप्रतिको कुदृष्टि त्याग गर्न सकेमात्र परमात्माको कृपा प्राप्त हुन्छ भनिएको छ ।

अहिंसा परमो धर्मस्तथा अहिंसा परं तपः ।
अहिंसा परमो यज्ञस्त्वहिंसा परमं श्रुतम् ।।  –महाभारत
अहिंसा परम धर्म हो, उत्तम धर्म हो, तपस्या हो तथा यज्ञ हो । अहिंसा नै उत्तम शास्त्र पनि हो ।

या देवी सर्वभूतेषु मातृरुपेण संस्थिताः ।
नमः तस्यै नमः तस्यै नमः तस्यै नमो नमः ।। –सप्तषती चण्डी
हे देवी ! तिमी सम्पूर्ण जगतकी जननी तिमीलाई हाम्रो नमस्कार छ ।

कुश्माण्डक कर्कटि क्षुदण्डदि बेलानि च । –सप्तषती चण्डी
कुभिण्डो, काँक्रो, उखु, मुला, बेल तथा नरिवल चढाउनु नै पञ्चबलि हो पशुबलि होइन ।

सुवर्ण दानं गोदानं भूमि दानं तथैव च ।
नानुत्तमं प्राणदानादिव्युवाच पराशर ।। –महाभारत
सुवर्ण दान, गोदान एवम् भूमि दानभन्दा उत्तम दान प्राणीको प्राण दान हो भनेर महाभारतमा पराशर मुनिले भनेका छन् ।

हिन्दु धर्मको सबभन्दा प्राचिन ग्रन्थ यर्जुवेदमा “मा हिस्यात् सर्व प्राणीनाम्” अर्थात् कुनै पनि प्राणीको हिंसा नगर्नु भनिएको छ । अहिंसा परमो धर्म, हिन्दु धर्मको मूल दर्शन हो । “हिंसायाद् दुरायते इति हिन्दु” हिंसादेखि जो सधैँ टाढा रहन्छ त्यो नै हिन्दु हो भनिएको
छ ।

सिख धर्मको गुरुवाणीमा “हिंसा तउ मन ते नहीं छुटी जीए दइआ नही पाली” भनेर हिंसालाई वर्जित गर्दै जीवमाथि दया गर भनिएको छ । 

यसै गरी जैन धर्मको मूल सिद्धान्त अहिंसा नै मानिन्छ । बौद्ध धर्मका पाँच सिद्धान्तमध्ये कुनै पनि प्राणीलाई दुःख नदिनु नै अहिंसा हो भनिएको छ ।

चाणक्य नीतिमा “सागर समानको भूमि दान गर्दा जति पुण्य हुन्छ उति मासु छाड्दा ।” भनेर उल्लेख गरिएको छ ।

“प्राणदान नात्परं दानं न भूतं न भविष्यति” प्राणदानभन्दा ठूलो दान भूत र भविष्यमा केही पनि हुँदैन भनेर महाभारतमा भनिएको छ ।

“मद्यं न पिवेत् । मांसं न भक्षयेत् ।” मासामासु र मदिरा सेवन नगर्नु भनेर पद्मपुराणमा भनिएको छ ।

“दया माया छाडी मनुज किन हिंसातिर झुक्यौ, म मर्नेछु मर्छु तर तिमी नराम्रोसित चुक्यौ ।” भनेर तरुण तपसी काव्यमा कवि शिरोमणि लेखनाथ पौडेलले भन्नुभएको छ ।

इस्लाम धर्ममा प्रसिद्ध सन्त मीर दादले कुनै पनि जीवको मासु खाने मानिसले बदलामा आफ्नो मासु दिएमा मात्र हिसाब बराबर हुन्छ भनेका छन् । कुरानमा पनि पशुको मासु वा रगत अल्लाहको लागि स्वीकार्य हुँदैन भनिएको छ ।

इसाई धर्मका ईसा मसीहले मांसाहारलाई सख्त विरोध गरेका छन् ।
भारतीय ऋषिमुनि कपिल, व्यास, पाणिनी, पाताञ्जलि, शंकराचार्य, आर्यभट्टलगायत महान् वैज्ञानिक एवं दार्शनिकहरू अल्बर्ट आइन्स टाईन, जार्जवर्नार्ड शां, महात्मा गान्धी, मदर टेरेसा, लियोनार्दो दा भिन्सी, अरस्तु आदि सबैले शाकाहारी जीवनलाई जोड दिँदै हिंसाबाट टाढा रहन आव्हान गरेको देखिन्छ । प्रणाम




Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।