४०६औँ प्राकट्य महोत्सव ✍



श्री प्राणनाथ निज मूलपति, श्री मेहराज सुनाम ।
तेज कुँवरी श्यामा युगलको, पल पल करुँ प्रणाम ।।

सम्वत् सोलह सै पचहत्तरा, आसो वदि चौदश नाम ।
पहर दिन चढ़ते बार रवि, प्रगटे धनी श्री धाम ।।

धर्मप्राण सुन्दरसाथजी ! आश्विन कृष्ण चतुर्दशी  महामति श्री प्राणनाथजी महाराजको यस धरातलमा प्राकट्य भएको दिन हो । यस पावन दिनका अवसरमा राजश्यामा धार्मिक बुलेटिन परिवारको तर्फबाट सबैमा कोटी कोटी प्रेम प्रणाम । प्रणाम

इन सरूप की इन जुबां, कही न जाए सिफत ।
सब्दातीत के पार की, सो कहनी जुबां हद इत ।।
- बीतक ६२/८

श्री प्राणनाथजीको स्वरूपको महिमा यी शब्दहरूले भन्न सकिन्न किनकि शब्द त यस नश्वर संसारको हो अनि जसको शोभाको वर्णन गर्नु छ उहाँ त शब्दातीत (शब्दभन्दा पर श्री अक्षर ब्रह्म) भन्दा पर हुनुहुन्छ । यस्ता अलौकिक अक्षरातीत स्वरूप यस धर्तीमा आउनु भएको दिन हो आज ।

धंन धंन ब्रह्मांड ए हुआ, धंन धंन भरथ खंड ।
धंन धंन जुग सो कलजुग, जहां लीला प्रचंड ।।
- प्रकास हि. ३१/१३३

जुन लोकमा परमात्मा स्वरूप श्री प्राणनाथजीको अलौकिक लीला भइरहेको छ, त्यो ब्रह्माण्ड धन्य-धन्य छ । भारत वर्षको भूमि पनि धन्य-धन्य छ जहाँ उहाँको चरण परेको थियो । यो २८औँ कलियुग पनि धन्य-धन्य भएको छ जहाँ कहिल्यै नभएको अद्भुत लीला भएको छ । भनिन्छ जसले देश र दुनियाँका लागि, धर्म अनि धराका लागि आफ्नो जीवन समर्पित गर्दछन् यस्ता महान आत्माको अवतरणको दिनलाई महोत्सव भनिन्छ ।

सुख शीतल करूँ संसार ।
प्रेम ब्रह्म दोऊ एक है ।
तुम प्रेम सेवासे पाओगे पार ।

जस्ता हजारौँ अनमोल सूत्रका प्रणेता महामति श्री प्राणनाथजीको प्राकट्योत्सवको अवसरमा तपाईँ सबैमा मेरो तर्फबाट हार्दिक बधाई तथा शुभकामना !

संक्षिप्त परिचय ✍
महामति श्री प्राणनाथजीको प्राकट्य गुजरात प्रान्तको सुप्रसिद्ध नगर जामनगरका तत्कालीन मन्त्री श्री केशवराय ठाकुर तथा माता धनबाईको पुत्रको रूपमा श्री मिहिराजको नामले वि. सं. १६७५ (१६१८ ई.) आश्विन कृष्ण चतुर्दशी रविवारके दिन प्रात: १०:०० बजे भएको थियो । बाल्यावस्थादेखि नै प्रखर प्रतिभा, धर्मनिष्ठा, आत्म-चिन्तन एवं सूक्ष्मावलोकन जस्ता विशिष्ट गुण वहाँमा देखिन्थ्यो । वहाँको शिक्षा पनि राजकीय सम्मानका साथ भएको थियो ।
श्री ५ नवतनपुरी धाममा श्रीकृष्ण प्रणामी धर्मका आदि आचार्य निजानन्दाचार्य श्री देवचन्द्रजी महाराजको सत्संग-चर्चाबाट अनेक व्यक्ति प्रभावित भएका थिए । यी मध्ये श्री केशवराय ठाकुरका परिवार पनि सम्मिलित थिए । श्री मिहिराजलाई बारह वर्ष दुई महिना दस दिनको अल्पायुमा सद्गुरु श्री देवचन्द्रजी महाराजको दर्शन तथा सत्संगका लाभ प्राप्त भएको थियो ।
मिहिराजजीले श्री ५ नवतनपुरीधाममा आएर सद्गुरुबाट गुरु दीक्षा प्राप्त गर्नुहुन्छ । श्री देवचन्द्रजी महाराजले बालक मिहिरराजमा अक्षरातीत पूर्णब्रह्म परमात्मा श्रीराजजीको आवेश युक्त परमधामको इन्द्रावती सखीको वासना देख्नुभयो र श्री निजनाम महामन्त्र प्रदान गर्दै अखण्ड परमधामका ब्रह्मात्माहरूको जागनी सम्बन्धमा अध्यात्मिक अपूर्व सम्पदाको गूढ़ातिगूढ चर्चा सुनाउनुभयो । श्री मिहिरराजसँग भेट भए पछि श्री देवचन्द्रजी महाराजलाई आत्मातोष भयो । वहाँले यो निश्चय गर्नु भयो कि मिहिरराजले नै धर्मको शेष कार्यलाई पूर्ण गर्नेछन् । अन्तत: धर्मको सम्पूर्ण भार मिहिराजको हातमा सुम्पेर वि.सं. १७१२ भाद्र शुक्ल चतुर्दशीका दिन स्वयं पनि आत्मा रूपसे वहाँमा समाविष्ट हुनुभयो । श्री मिहिराज श्री देवचन्द्रजी महाराजलाई प्राणनाथ भन्नुहुन्थ्यो । सद्गुरुको अन्तर्धान पश्चात् श्री मिहिराजको हृदयमा सद्गुरुको वास भएकाले वहाँलाई पनि श्री प्राणनाथ भनेर सम्बोधन गर्न थालियो । सद्गुरुले धर्मको सम्पूर्ण दायित्व सुम्पेर जानुभएको हुँदा मिहिराजलाई महामतिको उपाधि दिइयो पछि महामति श्री प्राणनाथजीको नामले वहाँ प्रसिद्ध हुनुभयो ।
निजानन्दाचार्य श्री देवचन्द्रजी महाराजको आज्ञाले महामति श्री प्राणनाथजीले अरब देशको यात्रा गर्नुभयो । पाँच वर्ष पर्यन्त त्यहाँ बसेर फर्केपछि पहिले ध्रोल अनि पछि जामनगर आएर मन्त्रीको रूपमा रहेर जनताको सेवा गर्नुभयो । केही समयपछि सम्पूर्ण लौकिक कार्यहरू छोडेर दिव्य ज्ञानको प्रचार प्रसारबाट अज्ञानजन्य अन्धकारमा भ्रमित आत्माहरूलाई परम शान्ति एवम् अखण्ड सुख प्रदान हेतु धर्म प्रचारको यात्रामा निस्कनु भयो ।
जूनागढ अहमदाबादबाट हुँदै वहाँ जामनगरबाट सिधा दीवबन्दर पुग्नुभयो । त्यहाँबाट ठठ्ठानगर, मस्कत, अब्बास बन्दर, नलिया, धोराजी हुँदै सुरत पुग्नुभयो ।
सुरतमा वेदान्तका प्रकाण्ड विद्वान एवं वैष्णव सम्प्रदायका धर्म धुरन्धर आचार्यहरूसँग वहाँको धर्मचर्चा भयो । महामति श्री प्राणनाथजीले सुरतमा श्रीकृष्ण प्रणामी धर्म-निजानन्द सम्प्रदायको जागनी पीठको रूपमा श्री ५ महामंगलपुरी धामको स्थापना गर्नुभयो । सत्रह महिना पश्चात् सुन्दरसाथको समूह लिएर श्री ५ महामंगलपुरी धाम सुरतबाट अहमदाबाद, सिद्धपुर, बिन्दु सरोवर, पुष्करनाथ हुँदै वि. सं. १७३१ मा राजस्थानको मेरता पुग्नुभयो । त्यहाँ जैन साधु लाभानन्द यतिका साथ धर्म चर्चा भयो । प्राणनाथजीको सम्मुख यतिका मन्त्र-तन्त्र सबै निष्फल भए । राजाराम भाई तथा झांझन भाई जस्ता मारवाडी श्रीमन्त महामतिजीका शिष्य बने जसले वर्षौँ पर्यन्त सैकडौँ सुन्दरसाथका लागि सबै प्रकारको खर्चको व्यवस्था गरेर स्वजीवन धन्य धन्य बनाए ।
एक दिन साँझ बगैँचामा भ्रमण गरिरहेको बेला महामति श्री प्राणनाथजीको ध्यान मुल्लाको बाँगतिर गयो । वहाँले  ‘ला-इल्लाह-इल्लिल्लाह’ भनेर कराएको सुनी यसमाथि  चिन्तन गर्नुभयो । जसरी गीता, भागवत एवं उपनिषदमा क्षर, अक्षर, तथा अक्षरातीत ब्रह्मको चर्चा गरिएको छ त्यसरी नै ला-इल्लाह-इल्लिल्लाह शब्दले पनि
त्यसलाई संकेत गरेको हुन्छ भन्नुभयो ।
भारतीय समस्त शास्त्र तथा मनीषिहरूको एउटै स्वर छ, ‘एकमेवाद्वितीयं ब्रह्म’ पूर्णब्रह्म परमात्मा एक हुनुहुन्छ ।  हिन्दू धर्मको ग्रन्थमात्र नभएर विश्वका सबै धर्मग्रन्थ यसै मतका पक्षधर छन् । वहाँले केवल भाषा अनि शैलीका आधारमा परमात्मा मान्ने तरिका फरक देख्नुभयो । हिन्दू अनि मुसलमानको लडाई पनि भाषा अनि शैलीमै आधारित छ । यथार्थमा दुवैको लक्ष्य एउटै परमात्मा हो । जब सबै धर्मको लक्ष्य एक परमात्मा हो भने धर्मको अनुयायी बीच परस्पर लडाइँ गर्नुको आवश्यकता नै छैन भनेर वहाँको मनमा धार्मिक सद्भावको भाव जागृत भयो । त्यसबेला दिल्लीमा औरंगजेबको शासन थियो उसले मुस्लिम धार्मिक ग्रन्थको गलत अर्थ लगाएर देशमा समता अनि न्यायको मूल्यलाई नष्ट गरी प्रचण्ड हिंसा अनि आतंकको वातावरण सृजना गरेको थियो । प्रजामा यसको विरोध गर्ने साहस थिएन । कतिपय हिन्दू राजाहरूलाई पनि आफ्नो सेनाको साथ मुगलहरूको चाकरी गर्दथे ।  महामति श्री प्राणनाथजीले ती राजाहरूलाई एक गर्ने प्रयत्न गर्नुभयो तर उहाँलाई सफलता मिलेन । त्यसपछि महामति श्री प्राणनाथजीले दिल्ली गएर औरंगजेबका साथ कुरानको माध्यमबाट चर्चा गरी उसको कुनीतिमा परिवर्तन ल्याउने निश्चय गर्नुभयो । आगरा, मथुरा हुँदै वि.सं. १७३५ चैत्र महिनातिर दिल्ली पुग्नुभयो । त्यो समयमा हरिद्वारमा कुम्भ मेला लागिरहेको थियो । भारतवर्षका विभिन्न सम्प्रदायका आचार्य, सन्त, महन्त, विद्वान आदि सबै त्यहाँ एकत्रित भएका थिए । महामति श्री प्राणनाथजीले विचार गर्नुभयो कि सबै धर्माचार्यहरूसँग धर्म चर्चा गर्ने यो एक उत्तम अवसर हो ।
विभिन्न सम्प्रदायमा बाँडिएका धर्माचार्य एवं विद्वानहरू आआफ्नो सम्प्रदायलाई श्रेष्ठ ठान्थे, धर्मको नाममा मतभेद गर्दथे । त्यसबेला हिन्दू समाज वर्ण व्यवस्थाको विकृत रूपलाई स्वीकार गरेर सामाजिक रूपले शक्तिहीन बनिरहेको थियो भने अर्कातर्फ साम्प्रदायिक मतभेदका कारण समाज छिन्नभिन्न भएको थियो । यस्तो अवस्थामा महामति श्री प्राणनाथजीले धर्मचार्यहरूलाई एउटै मन्चमा एकत्रित गर्ने निश्चय गर्नुभयो अनि सबै आचार्याका अनुयायीलाई एक सूत्रमा सूत्रित गरेर औरंगजेबसँग टक्कर लिन ज्यादा सरल हुने विचारका साथ आफ्ना केही शिष्यसहित हरिद्वार पुग्नुहुन्छ ।
हरिद्वारमा सबै धर्माचार्यहरूको धार्मिक मत सुनेर आफ्नो मत पनि सुनाउनु हुन्छ । प्राय: सबैको मत क्षर जगतको भूमिकामा केन्द्रित रहन्छ । परमात्माको विषयमा सबको चिन्तन अति न्यून पाउनु हुन्छ । अत: महामति श्री प्राणनाथजीले क्षर, अक्षर अनि उत्तम पुरुषको परिचय दिनुहुन्छ । ‘वसुधैव कुटम्बम्’ को भावना, धार्मिक सहिष्णुता, एकं सत् अर्थात् पूर्णब्रह्म परमात्माको पहिचान एवं प्राप्तिको लागि ब्रह्मज्ञान एवं परा प्रेम लक्षणा भक्ति आदिको सुन्दर उपदेश दिएर त्यहाँ उपस्थित सबै आर्चार्य एवं सन्तहरूलाई महामति श्री प्राणनाथजीले मन्त्रमुग्ध पार्नुहुन्छ । आत्मविभोर भएर सबैले महामति श्री प्राणनाथजीको दिव्य अवतार श्री विजयाभिनन्द निष्कलंक बुद्धको रूपमा स्वीकार गरी उहाँको आरती गर्दछन् । जुन स्थानमा ब्रह्मचर्चा भएको थियो आज पनि त्यो स्थान हरिद्वारमा ब्रह्म चबूतराको नामले प्रसिद्ध छ । महामति श्री प्राणनाथजी हरिद्वारबाट दिल्ली फर्कनुहुन्छ । उहाँ औरंगजेबसँग सीधा बातचीत गर्न चाहनुहुन्थ्यो तर आडम्बरको आडमा दुनियाँलाई सताउने व्यक्तिले सत्य धर्मको कुरा सम्मुख भएर सुन्न सकेन । महामति श्री प्राणनाथजीले खुला चुनौती दिएर जन जागरणको अभियान चलाउन भयो । यसका लागि शिष्य पनि तयार भए तर केही महिना पूर्व सिखका गुरुको हत्या भएको थियो । वातावरण भयावह थियो । महामति श्री प्राणनाथजीले आफ्ना बाह्र प्रमुख शिष्यहरू औरंगजेवलाई सम्झाउन पठाउनु भयो उहाँले कुरान अनुसार इमाम महदी, बाइबलको अनुसार ईसाको द्वितीय अवतार एवं हिन्दू शास्त्र अनुसार निष्कलंक बुद्धको रूपमा आफूलाई सिद्ध गर्नुभयो । स्वयं औरंगजेब एवं जामा मस्जीदका तत्कालीन इलामलाई यो कुराको अनुभव गराउनुभयो किन्तु शरीयतमा फसेका कारण जनआक्रोशको डरले उनीहरूले आफ्नो अहंभाव त्याग्न सकेनन् । अब ज्ञानको होइन तलवारको भाषाले सम्झाउन उचित ठानेर क्षत्रिय वीरको खोजीमा महामति श्री प्राणनाथजी आमेर, उदयपुर, बुँदी, औरंगाबाद, रामनगर, बुढानपुर आदि स्थानका राजाहरूलाई धार्मिक सन्देश दिँदै वि. सं. १७४० मा बुन्देलखण्डको पावन भूमि पन्ना पुग्नुहुन्छ र महाराजा श्री छत्रसाललाई जागनी गर्नुहुन्छ । छत्रसाल महाराज पनि मुगलका साथ लड्नका लागि समर्थ मार्ग-निर्देशकको प्रतीक्षामा हुनुहुन्थ्यो । उहाँलाई केही वर्ष पूर्व यस्तो आभास भएको थियो कि कुनै दिन दिव्य विभूतिको दर्शन अवश्य हुनेछ । मऊको समीप महामति श्री प्राणनाथजीसँग उहाँको भेट हुन्छ । महामति श्री प्राणनाथजीको दर्शनले उहाँमा शारीरिक शक्ति एवं आत्मबल दुवै वरदान सिद्ध हुन्छ । चिर प्रतीक्षित विजयाभिनन्द बुद्ध निष्कलंकको रूपमा महामति श्री प्राणनाथजीलाई पहिचान गरेर छत्रसालले उहाँको चरणमा आफ्नो सम्पूर्ण राज्य समर्पित गर्नुहुन्छ । महामति श्री प्राणनाथजीले छत्रसालजीलाई राजतिलक गरी बुन्देल केशरी महाराजा छत्रसालको पदवी दिनुहुन्छ र पन्नालाई हीरामयी भूमिको वरदान दिनुहुन्छ जसले गर्दा पन्नाको भूमिमा हीरा निस्कन थाल्छ । महाराजा छत्रसालले यसको प्रयोग गरेर सैन्य शक्ति अनि आफ्नो राज्यलाई समृद्ध बनाउनुहुन्छ । महामति श्री प्राणनाथजीको आशीर्वाद अनि प्रेरणा पाएर महाराजा छत्रसालले औरंगजेबको सेनाका साथ जति पटक युद्ध गरे पनि विजयी बन्नुहुन्छ । औरंगजेबलाई यो आभास थियो कि यो सबै महामति श्री प्राणनाथजी ‘आखिरी जमानेके खाविन्द’ को आशीर्वाद हो । अत: ऊ मूक दर्शक बनेर रहनु पर्यो । भनिन्छ औरंगजेबले जब महामति श्री प्राणनाथजीप्रति खराब दृष्टि राख्यो तब उसले दिल्ली राजधानीबाट भागेर दक्षिण दिशा जानु पर्यो । त्यसबेला उसको शाहजादले छत्रसालसँग युद्ध गर्न सेना पठाउने चाहना गर्यो तब औरंगजेबले पत्र लेखेर उसलाई सम्झाउँदै भनेका थिए, तिमी युद्ध गर्ने दु:साहस नगर किनकि छत्रसाललाई  ‘इमाम महदी’ को साथ छ । औरंगजेब दक्षिणबाट वापस आउन पनि सकेन र उसको उतै मृत्यु हुन्छ । महाराजा श्री छत्रसालजीले आजीवन स्वयंलाई श्री प्राणनाथजीको सेवामा समर्पित गर्नुभयो ।
महामति श्री प्राणनाथजीको आरम्भिक जीवन सद्गुरु श्री देवचन्द्रजीको साथ श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री ५ नवतनपुरीधाममा व्यतीत भएको थियो त्यसै गरी उहाँको जीवनका अन्तिम पलहरू छत्रसालजीसँग विचार विमर्श गर्दै पन्नामा बितेको थियो । उहाँले पन्नाको पावन भूमिमा निजानन्द सम्प्रदायको झण्डा लहराउँदै श्री ५ पद्मावतीपुरीधामकी स्थापना गर्नुभयो । उहाँका साथ आएका सुन्दरसाथहरूलाई बस्नका लागि बंगलाजीको चारैतिर स्थान बनाउनु भयो । पन्नामा नित्यप्रति धर्मचर्चा हुन थाल्यो । श्री ५ पद्मावतीपुरीधाममा बसेर महाराजा छत्रसालजीद्वारा बुन्देल खण्डलाई एकत्रीकरण गरेर मुगलको प्रभावबाट स्वाधीन बनाउनुभयो । भनिन्छ महात्मा केसरबाईले आफ्नो तीर्थ यात्राको क्रममा नवतनपुरीधाम जामनगर विश्राम गर्दा रात्रिको समय उनलाई ध्यानको अवस्थामा  व्रज, रास एवं जागनी लीलाको दर्शन भयो । उनले आफ्नो यात्रालाई बीचमा छोडेर महामति श्री प्राणनाथजीको दर्शनार्थ पन्ना नगरी पुगी महामतिजीबाट दीक्षा लिनुभयो । त्यसपछि उनलाई धर्मको दायित्व सुम्पेर श्रीकृष्ण प्रणामी धर्मको आचार्य नियुक्त गरी श्रीकृष्ण प्रणामी धर्मको आचार्य पीठ श्री ५ नवतनपुरी धाम जामनगर पठाइयो ।
महामति श्री प्राणनाथजीले आफ्नो जागनी यात्रालाई विराम दिँदै पन्नामा बसेर सुन्दरसाथलाई धामधनी एवं परमधामको अनुभव गराउनुभयो । उहाँले यसै भूमिमा ज्ञान चर्चा गर्दै वि.सं. १७५१ (१६९४ ई.) मा आफ्नो इहलीलालाई संवरण गरी समाधी लिनुभयो ।
मध्यकालीन भारतीय मनीषिहरूमा महामति श्री प्राणनाथजीको अनौठो व्यक्तित्व रहेको देखिन्छ । उहाँले राजनैतिक क्षेत्रमा सफल राजनीतिज्ञको रूपमा छत्रसाल महाराजलाई नेतृत्व प्रदान गर्नुभएको थियो । सामाजिक क्षेत्रमा सफल समाज सुधारक तथा मानव मूल्यको संरक्षकको रूपमा एवं धार्मिक क्षेत्रमा एउटा युगपुरुषको रूपमा स्थापित हुनुभयो । अध्यात्म जगतमा आफ्ना अनुयायीहरूले उहाँलाई प्राणनाथ भनेर सम्बोधन गर्दथे । साहित्यको दृष्टिले हेर्दा उहाँले चौदह ग्रन्थको संग्रह १८,७५८ चौपाई भएको श्री तारतमसागर मानव जगत र जीवनका लागि सुम्पनु भयो ।
अन्त्यमा महामति श्री प्राणनाथजीको ४०६औँ प्राकट्य अवसरमा राजुप्रसाद भट्टराई, विराटनगरको तर्फबाट सबैमा कोटान कोट शत शत नमन प्रणाम । 

Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

प्राकट्य उत्सव ✍