राजश्यामा’ धार्मिक बुलेटिनको संक्षिप्त परिचय

अक्षरातीत पूर्णब्रह्म परमात्माप्रति आस्था राख्ने निजानन्द सम्प्रदाय (प्रणामी धर्म) को सिद्धान्तअनुसार श्रीकृष्ण प्रणामी धर्म, साहित्य तथा संंस्कृतिको विकास गर्ने उद्देश्यले वि.सं. २०६४ साल भाद्र ०७ गतेका दिन जिल्ला प्रशासन कार्यालय मोरङ (संस्था दर्ता नम्बर १९८९) मा विधिवित रूपमा श्रीकृष्ण प्रणामी साहित्य तथा संंस्कृति परिषद् नेपाल, विराटनगर नामक धार्मिक संस्था स्थापना गरिएको थियो ।

श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषद् नेपाल, विराटनगरले आफ्नो स्थापनाकाल वि.सं. २०६४ सालदेखि नै ‘राजश्यामा’ नामक त्रैमासिक धार्मिक बुलेटिन प्रकाशन गर्दै आएको छ । स्थापनाकालदेखि नै यस धार्मिक बुलेटिनका लागि संयोजक पशुपति पराजुली (२०८० माघ ६ गते धामगमन भएको) एवम् प्रधान सम्पादक राजुप्रसाद भट्टराई (विराटनगर) रहनु भएको छ जसले हालसम्म अविच्छिन्न रूपमा सेवा गर्दै आउनु भएको छ । ‘राजश्यामा’ धार्मिक बुलेटिनको पहिलो अंक वि.सं. २०६४ साल पुष महिनामा प्रकाशन गरिएको थियो । राजश्यामा धार्मिक बुलेटिन अर्थात् पत्रिकाको पहिलो अंकको विमोचन मंगलधाम कालिम्पोङका गादीपति गुरुजी श्री १०८ मोहनप्रियाचार्यजी महाराजबाट गर्ने सौभाग्य यस संस्थाले पाएको थियो । प्रणामी धर्मका विषयमा नेपाली भाषामा नेपालमा धेरै पत्रपत्रिकाहरू निस्कने प्रयास नभएका होइनन् तर पनि सबैले निरन्तरता पाउन सकेनन् । यसको अभावलाई ‘राजश्यामा’ त्रैमासिक धार्मिक बुलेटिनले स्थापना कालदेखि नियमितता दिएर थोरै भए पनि आफूलाई सेवामा समर्पित हुन सफल भएको छ । नेपालमा रहेका प्रणामी मन्दिरहरूमा राजश्यामा धार्मिक बुलेटिन पुर्‍याउने लक्ष्य अनुरूप यो संस्था साहित्य सेवामा समर्पित रहेको छ । राजश्यामा धार्मिक बुलेटिन प्रकाशन गर्न विज्ञापन, सहयोग आदि दिने दाताहरूलाई वहाँहरूको स्थानीय प्रणामी मन्दिरमा पत्रिका पुर्‍याउने प्रयास जारी छ । तपाईहरूको सहयोगबाट नै आज यस पत्रिकाले सफलता पाएको छ । वि.सं. २०७५ साल पुष महिनाको ३५ औँ अंकदेखि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालसँग सहकार्य गरेर ‘राजश्यामा’ धार्मिक बुलेटिन सेवा समिति नेपालको मुखपत्रको रूपमा प्रकाशन हुँदै आएको छ । 

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, नेपाल अधिराज्य भरि रहेका प्रणामीहरूको एउटा केन्द्रीय संस्था हो । यस संस्था अन्तर्गत धेरै इकाई, मन्दिर, जिल्ला अनि संस्थागत समितिहरू पनि रहेका छन् । यसै कुरालाई मनन गरी तत्कालीन श्रीकृष्ण प्रणामी साहित्य तथा संंस्कृति परिषद् नेपाल विराटनगर, जुन मोरङ जिल्लामा दर्ता रहेको संस्था थियो उक्त संस्थालाई जिल्ला प्रशासन कार्यालय मोरङको मिति २०८०/५/११  को पत्रानुसार दर्ता खारेज गरिएको छ । वर्तमान अवस्थामा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको इकाई शाखाको रूपमा श्रीकृष्ण प्रणामी साहित्य तथा संंस्कृति परिषद, विराटनगर (१६५ नम्बरमा दर्ता रहेको) नामको इकाई संस्थाबाट 'राजश्यामा' धार्मिक बुलेटिनलाई निरन्तरता दिने काम  भएको छ । तत्कालीन श्रीकृष्ण प्रणामी साहित्य तथा संंस्कृति परिषद नेपाल विराटनगरबाट श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको नाममा विराटनगर चारमा रहेको डेढ कट्ठा जमिन नि:शुल्क हस्तान्तरण गरिएको छ भने 'राजश्यामा' धार्मिक बुलेटिनलाई श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको मुखपत्रको रूपमा प्रकाशन गर्ने पूर्व सहमतिअनुसार हाल 'राजश्यामा' धार्मिक बुलेटिन (प्रमुख सम्पादक राजुप्रसाद भट्टराई, विराटनगर) सेवा समितिको सहयोगमा प्रकाशित हुँदै आएको छ । श्रीकृष्ण प्रणामी साहित्य तथा संस्कृति परिषद् विराटनगरको वर्तमान कार्य समिति यस प्रकार रहेको छ ।

अध्यक्ष राजुप्रसाद भट्टराई, उपाध्यक्ष धर्म कुमारी भट्टराई, सचिव गोमा अधिकारी, कोषाध्यक्ष आशा अधिकारी, सदस्यहरू  रोमन कटेल (केन्द्रीय प्रतिनिधि) सुभाष पौडेल र चम्पा ढकाल । 

सल्लाहकार श्री १०८ जगतनन्दन महाराज धरान । प्रणाम 










Comments

Popular posts from this blog

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ✍

✍ शरद पूर्णिमा

✍️ मोरङको ३५औँ वार्षिक साधारण सभा एवम् प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न ।